एमाले सभामा सहभागी कम, पार्टी कमजोर भएको नेताबाटै स्वीकार

एमाले सभामा सहभागी कम, पार्टी कमजोर भएको नेताबाटै स्वीकार
देबेन्द्र यादव देबेन्द्र यादव २०८१ मंसिर २९, शनिबार १७:५१
एमाले सभामा सहभागी कम, पार्टी कमजोर भएको नेताबाटै स्वीकार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले मुलुकको विकासमा ध्यान केन्द्रित गरेको बताएका छन् । नेकपा (एमाले) लमजुङ–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यसअघिका अव्यवस्थित विषयलाई व्यवस्थित गर्दै क्रमशः मुलुकको विकास गर्नेतर्फ सरकार केन्द्रित रहेको उल्लेख गरे ।

तत्कालै विकासका काम नदेखिए पनि पुराना बिग्रिएका क्षेत्रलाई लयमा ल्याउने कार्य भएको उनले बताए । उनले अर्थतन्त्र अझै पनि संकटमा रहेको र थप बिग्रनतर्फ जाने अवस्थालाई रोकिएको जिकिर गरे ।

एमालेका उपमहासचिव समेत रहेका गुरुङले वर्तमान सरकारले गरेका सुधारका कामलाई जनतामाझ लैजानुपर्ने बताए । एमाले सरकारमा गएपछि पार्टी नेतृत्वमाथि भएका नकारात्मक टीकाटिप्पणी र घेराबन्दीविरुद्ध नेता–कार्यकर्ता एकजुट हुनुपर्नेमा उनले जोड दिए ।

नेतृत्व र सरकारविरुद्ध घेराबन्दी बढेपछि प्रतिवाद गर्न एमालेले स्थानीय तह उपनिर्वाचनअघि काठमाडौंमा सभा (जागरणसभा) गरेको उनले सुनाए । तर, सभामा नेता–कार्यकर्ताको न्यून उपस्थिति भएको भन्दै उनले असन्तुष्टि जनाए । त्यसमा माधव नेपालले पार्टी टुक्राएर गएलगत्तै गरिएको सभामा भन्दा आधा कम कार्यकर्ता सहभागी भएको उनले उल्लेख गरे ।