राेमाञ्चक खेलमा जनकपुरद्वारा लुम्बिनी १ रनले पराजित

राेमाञ्चक खेलमा जनकपुरद्वारा लुम्बिनी १ रनले पराजित
देबेन्द्र यादव देबेन्द्र यादव २०८१ मंसिर २३, आईतवार १२:५५
राेमाञ्चक खेलमा जनकपुरद्वारा लुम्बिनी १ रनले पराजित

काठमाडौँ —सन्दीप जोराले अन्तिम बलमा २ रन प्रहार गर्न नसकेपछि लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार चौथो खेलमा पराजित भएको छ । जोरा अन्तिम बलमा आउट भएपछि लुम्बिनीलाई आइतबार जनकपुर बोल्ट्सले १ रनले पराजित गरेको हो ।
लुम्बिनीको ठिक उल्टो जनकपुरले लगातार चौथो खेल जितेको छ र टोली सुदूरपश्चिम रोयल्सलाई उछिन्दै शीर्ष स्थानमा उक्लेको छ ।
लुम्बिनीलाई अन्तिम दुई ओभरमा विजयका लागि २३ रनको आवश्यकता थियो । १९ औं ओभरमा लुम्बिनीले १४ रन जोडेको थियो, त्यसमध्ये १३ रन जोराका नाममा थियो । अन्तिम ओभरको पहिलो बलमै हर्ष ठाकरले साद बिन जाफरलाई शून्यमा आउट गरे । दोस्रो बलमा दुर्गेश गुप्ताले चौका प्रहार गरे । तेस्रो बलमा कुनै रन बनाउन नसकेका दुर्गेशले चौथो बलमा १ रन लिए ।

पाँचौं बलमा २ रन लिने प्रयासमा जोरा मुस्किलले रनआउट हुनबाट जोगिएका थिए । अन्तिम बलमा लुम्बिनीलाई जितका लागि २ रन चाहिन्थ्यो भने १ रनले स्कोर बराबर हुन्थ्यो । तर जोराले ठाकरको बल पुल गर्न खोज्दा टप एज लागेर स्क्वायर लेगमा किशोर महतोलाई क्याच दिन पुगेपछि जनकपुरले रोमाञ्चक विजय हात पारेको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ओपनर आशुतोष घिरोहियाले पुनः निराश बनाए । उनी ८ रनमात्र बनाई आउट भए । अर्का ओपनर अर्जुन साउदले २३ बलमा २ चौकासहित २० रन बनाए । कप्तान रोहित पौडेलले ३५ रन जोडे । उनले ३८ बल खेल्दै ३ चौका प्रहार गरे । टम मुर्सले २३ बलमा ३१ रन बनाउने क्रममा २ चौका र १ छक्का प्रहार गरे ।

रोहित आउट भएसँगै लुम्बिनीको विकेट झर्ने क्रम सुरु भएको थियो । विवेक यादव शून्य, बेन कटिङ ३ रनमा आउट भए ।

ठाकेरले ४ ओभरमा २३ रन खर्चेर ५ विकेट लिए । ललित राजवंशीले ४ ओभरमा १३, किशोरले ३ ओभरमा २५ र शेर मल्लले ४ ओभरमा ३३ रन खर्चेर १–१ विकेट लिए ।