कीर्तिपुरमा क्रिकेट महाकुम्भ

कीर्तिपुरमा क्रिकेट महाकुम्भ
देबेन्द्र यादव देबेन्द्र यादव २०८१ मंसिर १५, शनिबार १०:०९
कीर्तिपुरमा क्रिकेट महाकुम्भ

काठमाडौँ —नेपाल प्रिमियर लिग (एनपीएल) ले नेपाली क्रिकेटको मुहार फेर्ने विश्वास खेलाडीहरूले लिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो पूर्ण स्वामित्वमा पहिलो पटक आयोजना गर्न लागेको एनपीएल शनिबार सुरु हुँदै छ ।

नेपालका घरेलुसहित राष्ट्रिय टोलीका खेलाडीहरू तथा ४० विदेशी खेलाडीले एनपीएललाई प्रतिस्पर्धात्मक पनि बनाउने अपेक्षा गरिएको छ । यसले नेपाली क्रिकेटलाई आर्थिक रूपमा बलियो बनाउनुका साथै खेलाडीको क्षमता तिखार्दै प्रतिभावानलाई अगाडि ल्याउने विश्वास गरिएको छ ।

‘नेपाल क्रिकेटका लागि एनपीएल एकदमै महत्त्वपूर्ण प्रतियोगिता हो । आईपीएलले भारतलाई जसरी सहयोग गरेको छ, त्यसरी एनपीएलले नेपाल क्रिकेटलाई सहयोग गर्छ जस्तो लाग्छ । एनपीएल अहिले जसरी चर्चा छ, त्यसले ठूलो आकार लिनसक्छ,’ लुम्बिनी लायन्सको नेतृत्व गरिरहेका राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले भने । उनले थपे, ‘योभन्दा अघि जति पनि लिग भएको थियो र अहिले जसरी एनपीएल हुन लागेको छ त्यसमा ठूलो भिन्नता छ ।’

काठमान्डु गुर्खाजका कप्तान करण केसीले स्टार स्पोर्ट्स टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुने हुनाले नेपाली खेलाडीलाई विदेशी लिगका लागि ढोका खोलिदिने विश्वास व्यक्त गरे । भारतका शिखर धवन, न्युजिल्यान्डका जिम्मी निसम, मार्टिन गप्टिलले एनपीएलमा विभिन्न टोलीबाट खेलिरहेका छन् ।

अनिल जनकपुरको कप्तान

पछिल्लो समय नेपाली राष्ट्रिय टोलीमा आफ्नो स्थान बलियो बनाएका अनिल साहले जनकपुर बोल्ट्सको कप्तानी गर्नेछन् । शुक्रबार ‘क्याप्टेन मिडिया डे’ मा अनिल कप्तानको रूपमा प्रस्तुत भए । जनकपुरले यसअघि आसिफ शेखलाई मार्की खेलाडीमा लिएको थियो । अन्य सबै मार्की खेलाडी नै कप्तान रहे पनि जनकपुरले अनिललाई टोलीको नेतृत्व गर्ने जिम्मेवारी दिएको हो ।

यसले केही फरक नपर्ने अनिल जनाउँछन् । ‘मार्की खेलाडी भएर कप्तान नै हुनुपर्छ भनेर जरुरी छैन, म कप्तान भएर होस् वा आसिफ कप्तान भएर केही फरक पर्छ जस्तो लाग्दैन । घरेलु खेलाडीसँग म धेरै सम्पर्कमा हुन्छु त्यही भएर पनि सायद मलाई कप्तानी जिम्मेवारी दिइएको होला । तर यसको मतलब यो होइन कि सबै मैले नै गर्ने हो, टिममा सबैको आ–आफ्नो जिम्मेवारी हुन्छ । मेरो अलि धेरै हुन्छ होला, हामी सबै मिलेर गर्ने हो,’ अनिलले भने ।

 

उनले थपे, ‘आसिफलाई यो विषयमा कुनै समस्या छैन । हाम्राबीचमा धेरै छलफल भइसकेको छ, जे जस्तो योजना बनाइरहेका छौं, त्यसमा आसिफलाई पनि समावेश गरेका छौं । आसिफलाई पनि एउटा जिम्मेवारी दिएका छौं, एउटा सिनियर खेलाडीको रूपमा उसले कसरी नेतृत्व गर्नुपर्छ भनेर । कप्तान जो भए पनि केही समस्या हुन्छ जस्तो लाग्दैन ।’

विराटनगर र जनकपुरको पहिलो खेल

विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच एनपीएलको पहिलो खेल हुनेछ । स्थानीय तह उपनिर्वाचनका कारण ८ फ्रेन्चाइज टोली सहभागी प्रतियोगितामा आइतबार कुनै खेल हुनेछैन । राउन्ड रोबिन लिगपछि शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् ।

 

‘हाम्रो तयारी काठमाडौंमा आएर मात्र सुरु भयो, उता मैदान उपलब्ध पनि थिएन । यहाँ आएपछि एउटा अभ्यास खेल पनि भयो, त्यसमा राम्रो भयो । हाम्रो टोली सन्तुलित नै पायौं, विदेशी खेलाडीको साथले हाम्रो टोली अझ मजबुत बनेको छ,’ जनकपुरका कप्तान अनिलले भने, ‘एनपीएल हामी खेलाडीलाई राम्रो प्लेटफर्म हो । हामी सबैलाई थाहा छ, यो कतिको महत्त्वपूर्ण प्रतियोगिता हो भनेर ।’

आइपुगे धवन

एनपीएल खेल्न आउने सबैभन्दा ठूलो नाममध्येका शिखर धवन शुक्रबार साँझ काठमाडौं ओर्लिएका छन् । उनले सोमपाल कामीको नेतृत्वमा रहेको कर्णाली याक्सबाट खेल्नेछन् ।

कर्णाली याक्सका प्रवर्द्धकहरू झनकदत्त खनाल र गृहेन्द्र घिमिरले धवनलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । कर्णालीले सोमबार जनकपुरसँग खेलेर एनपीएलको यात्रा सुरु गर्नेछ ।