जनमत पार्टीका नेतालाई पार्टी नेतृत्वको सामाजिक सञ्जालमा गुनगान गर्न निर्देशन

जनमत पार्टीका नेतालाई पार्टी नेतृत्वको सामाजिक सञ्जालमा गुनगान गर्न निर्देशन
देबेन्द्र यादव देबेन्द्र यादव २०८१ पुष १५, सोमबार १५:१४
जनमत पार्टीका नेतालाई पार्टी नेतृत्वको सामाजिक सञ्जालमा गुनगान गर्न निर्देशन

जनकपुरधाम । सीके राउत नेतृत्वको जनमत पार्टीले पार्टीका सम्पूर्ण पदाधिकारीहरूले हरेक दिन एक पोस्ट पार्टी वा नेतृत्वको विषयमा साकारात्मक पोस्ट सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर वा एक्स, टिकटक आदि) मा गर्न निर्देशन दिएको छ । केन्द्रीय सचिवालयको निर्णायानुसार जनमत पार्टीले आफ्ना पदाधिकारीहरूलाई जिम्मेवार, अनुशासित र दीर्घकालीन रूपमा सफल बनाउनका लागि पार्टीको साकारात्मक प्रचार–प्रसारमा अनिवार्य जोड्न र त्यसलाई अनुगमन समेत गर्ने निर्णय गरेको हो ।

पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला मूल समितिका सदस्यहरूले सो पोस्ट गरे–नगरेको एउटा सामाजिक सञ्जाल अनुगमन समितिले अनुगमन गर्ने र मासिक रूपमा प्रतिवेदन पेस गर्नेछ । मासिक रूपमा २० वा बढी पोस्ट आए राम्रो, १०–२० आए औसत, ३–१० पोस्ट आए सामान्य र ३ भन्दा कम पोस्ट आए निष्क्रिय मानिने बैठकले निर्णय गरेको छ । सो मूल्याङ्कन अन्य जिम्मेवारी तोक्दा प्रयोग गरिनेछ, राम्रो गर्नेलाई पुरस्कृत गर्ने तथा निष्क्रिय हुनेलाई एक तह घटुवा गर्ने वा जिम्मेवारीबाट हटाउने सम्मको सिफारिस गर्न सकिनेछ ।

त्यसै गरी, पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला मूल समितिका सदस्यहरूले २०८१ पुस मसान्तसम्ममा आ–आफ्नो सामाजिक सञ्जालको आईडी सामाजिक सञ्जाल अनुगमन समिति, पीएन माझीलाई जानकारी गराउनुपर्ने बताइएको छ ।

पार्टीका पदाधिकारी तथा सदस्यहरूले सामाजिक सञ्जाल वा सार्वजनिक रूपमा पार्टीको विरुद्धमा अभिव्यक्ति दिने, बोल्ने÷लेख्ने वा पार्टीको छविमा आँच आउने वा पार्टीलाई अहित हुने गतिविधि गर्नु समेत बन्देज गरिएको छ । सो गरेमा पार्टीको विधान अनुसार कारबाही हुने बताइएको छ ।