नेपाली भूमिमाथि भारत र चीनको ‘दादागिरी’ ! लिपुलेकबाट ‘कैलाश मानसरोवर यात्रा’ सुरू गर्ने तयारी

नेपाली भूमिमाथि भारत र चीनको ‘दादागिरी’ ! लिपुलेकबाट ‘कैलाश मानसरोवर यात्रा’ सुरू गर्ने तयारी
देबेन्द्र यादव देबेन्द्र यादव २०८१ पुष १२, शुक्रबार १३:४४
नेपाली भूमिमाथि भारत र चीनको ‘दादागिरी’ !  लिपुलेकबाट ‘कैलाश मानसरोवर यात्रा’ सुरू गर्ने तयारी

काठमाडौं । दुई ठूला छिमेकी भारत र चीनले बीचमा रहेको सानो छिमेकी नेपालमाथि थिचोमिचो गर्ने सहमति गरेका छन् । कोभिड महामारी सुरू भएसँगै सन् २०१९ देखि चीनले रोकेको ‘कैलाश मानसरोवर यात्रा’लाई पुनः सुचारू गर्न भारत र चीन सहमत भएका छन् ।

भारतीय तिर्थालुले कैलाश मानसरोवर यात्रा नेपाली भूमि लिपुलेक हुँदै पुनः सुचारू गर्ने गरी भारत र चीनले सहमति गरेका हुन् । नेपाली भूमि लिपुलेक लामो समयदेखि भारतले आफ्नो नियन्त्रणमा राख्दै आएको छ ।

नेपालले वर्षाैंदेखि लिपुलेक, कालापानी र लिम्पियाधुरामाथि आफ्नो दाबी गर्दै वार्तामार्फत सीमा समस्या समाधान गर्न भारतलाई आग्रह गर्दै आएको छ । तर भारतले भने नेपालको आग्रहलाई बेवास्ता गर्दै आएको छ

यसैबीच नेपाली भूमि लिपुलेकबाट कैलाश मानसरोवर यात्रा पुनः सुचारू गर्ने सहमति भारत र चीनले गरेका हुन् । नेपालसँग अनुमति नै नलिई दुई देशले नेपाली भूमि प्रयोग हुने गरी कैलाश मानसरोवर यात्रा पुनः सुचारू गर्ने सहमतिमा पुगेका हुन् ।

भारत र चीनबीच यही डिसेम्बर १८ का दिन उक्त सहमति भएको हो । पाँच वर्षपछि भारत र चीनका विशेष प्रतिनिधिबीच चीनको बेइजिङमा भएको २३औं बैठकमा उक्त सहमति भएको थियो । बैठकमा भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल र चिनियाँ विदेशमन्त्री वाङ यी सहभागी भएका थिए ।

“विशेष प्रतिनिधिहरूले आपसी हितका द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा विचार आदान प्रदान गरे । भेटमा दुवै पक्षले कैलाश मानसरोवर यात्राको पुनः शुरुवात, सीमापार नदीको तथ्याङ्क आदान–प्रदान र सीमा व्यापारलगायत सीमापार सहयोग र आदान–प्रदानका लागि सकारात्मक निर्देशन दिएका थिए,” भारत र चीनका विशेष प्रतिनिधिबीचको बैठक सम्पन्न भएपछि डिसेम्बर १८ मा भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कैलाश मानसरोबर यात्रा पुनः सुचारू गर्ने विषयमा भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच गत नोभेम्बरमा नै छलफल भएको थियो । १८ नोभेम्बर २०२४ मा उनीहरुबीच ब्राजिलको रियो दि जेनेरियोमा जी–२० शिखर सम्मेलनको साइडलाइनमा भेटवार्ता हुँदा छलफल भएको थियो ।

यसअघि २३ अक्टोबर २०२४ मा कजानमा भएको १६औं ब्रिक्स शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता हुँदा पनि यस विषयमा छलफल भएको थियो ।

त्यतिबेला मोदी र सीबीच भारत–चीन विशेष प्रतिनिधि, विदेश सचिवलगायतका संयन्त्रको बैठक छिटोभन्दा छिटो गर्ने सहमति भएको थियो । मोदी र सीको निर्देशनअनुसार कैलाश मानसरोवर तीर्थयात्रा पुनः सुरू गर्ने कुरा अघि बढाइएको जानकारी भारतीय विदेश राज्यमन्त्री कीर्तिवर्धन सिंहले यही डिसेम्बर २० मा लोकसभालाई दिएका थिए ।

“छलफल गरिएका विषयमा कैलाश मानसरोवर तीर्थयात्रा पुनः सुरु गर्ने, सीमापार नदीहरूसँग सम्बन्धित डाटा आदानप्रदान, भारत र चीनबीचको सीधा उडान र मिडिया आदानप्रदान समावेश थियो,” सिंहले लोकसभालाई जानकारी दिएका थिए ।

मोदी र सीको निर्देशन अनुसार डिसेम्बर १८ मा बसेको भारत–चीन विशेष प्रतिनिधिस्तरीय बैठकले कैलाश मानसरोवर यात्रा पुनः सुचारु गर्नेलगायतका ६ बुँदे सहमति गरेको हो । “कैलाश मानसरोवर यात्रा पुनः सुचारू गर्ने सम्बन्धमा भारत र चीनबीच जुन सहमति भएको छ त्यो अन्तर्राष्ट्रिय कानुनविपरीत छ,” पूर्वपराष्ट्र सचिव अर्जुनबहादुर थापाले बाह्रखरीसँग भने ।

थापाका अनुसार, नेपाल र भारत दुवैले लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई विवादित क्षेत्रको रुपमा स्वीकारेका छन् । ती क्षेत्र नेपालले आफ्नो भएको दाबी गर्दै आएको छ भने भारत पनि दाबी गर्नबाट पछि हटेको छैन ।

नेपाल र भारतबीच विभिन्न तहमा हुने बैठकमा सीमा विवाद उठ्ने गरेका छन् । तर भारतले अन्य कुरालाई प्राथमिकता दिँदै सीमा विवाद पछि सुल्झाउने भन्दै थाँती राख्दै आएको छ । सीमा विवादको समाधान वार्तामा खोज्न दुवै पक्ष सहमत छन् ।