मधेस केन्द्रित दलहरु २०८४मा एक्लै निर्वाचन लड्ने मूडमा

मधेस केन्द्रित दलहरु २०८४मा एक्लै निर्वाचन लड्ने मूडमा
देबेन्द्र यादव देबेन्द्र यादव २०८१ पुष १, सोमबार १५:४८
मधेस केन्द्रित दलहरु २०८४मा एक्लै निर्वाचन लड्ने मूडमा

जनकपुरधाम । तीन ठुला दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले आगामी चुनाव एक्लै निर्वाचन लड्ने बताइरहेको समयमा मधेस केन्द्रित ३ दलले पनि त्यही मूडमा रहेको देखिएको छ ।

मधेस केन्द्रित दल जसपा नेपाल, जनमत र लोसपा नेपालले गठबन्धनमा निर्भर नभई एक्लै निर्वाचन लड्ने बताउन थालेका हुन् ।

एउटा मात्र आम निर्वाचनमा भाग लिएको सीके राउत नेतृत्वको जनमत पार्टीले २०७९मा एक्लै निर्वाचन लडेको थियो । तर, विगतमा विभिन्न दलसँग गठबन्धन गरेर निर्वाचनमा भाग लिएका जसपा नेपाल र लोसपा नेपालले अब गठबन्धन नगर्ने बताएका छन् । ती दलले २०८४मा एक्लै चुनाव लड्ने मुडमा आफूहरू रहेको बताएका हुन् ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले २०७९मा कतिपय स्थानमा एमालेसँग चुनावी गठबन्धन गरेको थियो । तैपनि सो पार्टीले चुनावमा सोचे जस्तो परिणाम ल्याउन सकेको थिएन ।

चुनावपछि जसपा नेपालले गरेको समीक्षामा एक्लै निर्वाचन लडेको भए राम्रो परिणाम ल्याउन सकिने निष्कर्ष निकालिएको थियो । यस्तै हालै सम्पन्न स्थानीय तह उपनिर्वाचनमा जसपा नेपाल ल्याएको परिणामले उत्साहित भएको छ । यो परिणामले पनि पार्टी एक्लै निर्वाचनमा जाँदा राम्रो परिणाम ल्याउन सकिन्छ भन्ने सन्देश दिएको सो पार्टीका कतिपय नेताहरूले बताउँछन् ।

जसपा नेपालका महासचिव रामकुमार शर्माले अहिलेसम्मको परिस्थिति हेर्दा जसपा नेपालले एक्लै चुनाव लड्ने अवस्था रहेको बताउँछन् ।

यद्यपि २०८४ अहिले धेरै टाढा रहेको उल्लेख गर्दै अहिलेको पहिलो प्राथमिकता संगठन निर्माण र आन्दोलन रहेको बताए । त्यसपछिको चरणमा मात्र चुनावमा प्रवेश गरिने उनको भनाइ छ ।

शनिबार सम्पन्न कार्यकारिणी समितिको बैठकले ‘जनतासँग जसपा नेपाल, सङ्गठन निर्माण अभियान’लाई आगामी माघ मसान्तसम्म जारी राख्ने निर्णय गरेको छ । अभियान अत्यन्तै प्रभावकारी रहेको निष्कर्ष निकाल्दै यसलाई माघ मसान्तसम्मलाई निरन्तरता दिइएको नेताहरु बताउँछन् ।

जनमत पार्टीका उपाध्यक्ष दीपक साहले आफ्नो पार्टीले २०७९को निर्वाचन एक्लै लडेको र आगामी निर्वाचन पनि एक्लै लड्ने सोच बनाइएको जानकारी दिए ।

निर्वाचनमा कसैसँग तालमेल हुँदैन भनेर जनमत पार्टीले सुरुदेखि नै भन्दै आएको स्पष्ट पार्दै उनले २०८४ को चुनावको तयारीका लागि मिसन ८४ पनि चलाइरहेको जानकारी दिए ।

उसो त २०७९ को चुनावमा कांग्रेससँग चुनावी तालमेल गरेको महन्थ ठाकुर नेतृत्वको लोसपा नेपाल राष्ट्रिय दल नै बन्न सकेन । यस्तो पृष्ठभूमिमा पनि सो पार्टीले २०८४ को चुनावमा एक्लै निर्वाचन लड्ने आँट जुटाउनमा लागेको छ ।

लोसपा नेपालको आइतबार मात्रै सदस्यता वितरण अभियान सम्पन्न गरेको छ ।