२७० औषधि उत्पादन गरिरहेको टाइम फर्मा

२७० औषधि उत्पादन गरिरहेको टाइम फर्मा
देबेन्द्र यादव देबेन्द्र यादव २०८१ मंसिर २३, आईतवार १६:५२
२७० औषधि उत्पादन गरिरहेको टाइम फर्मा

चितवन —औषधि उत्पादक कम्पनी टाइम फर्मास्युटिकल्स आफ्ना आठ वटा उत्पादनसहित २०५४ मंसिर २ मा बजार प्रवेश गरेको थियो । २८ वर्षे अवधिमा टाइमले २ सय ७० प्रकारका औषधि उत्पादन गर्ने अवस्थामा आइपुगेको छ । यसको सुरुवाती उत्पादन भने ‘साइनेक्स’ हो ।

रुघाका बिरामीका लागि ‘साइनेक्स’ खाने बानी नै परिसकेको छ । देशभर बजार बिस्तार गर्न र राम्रो प्रभाव पार्न सफल टाइमको सुरुवाती समय भने सहज थिएन ।

समस्या समाधान गर्दै अगाडि बढ्दै आएका कारण टाइम फैलन सकेको कम्पनीका संस्थापक अध्यक्ष र हाल कार्यकारी अध्यक्ष जी नारायणबहादुर क्षेत्री सुनाउँछन् । टाइमको आगामी आकार झनै फराकिलो बनाउने योजनामा उनी छन् । औषधि उत्पादनमा आत्मनिर्भर हुने र निर्यातसमेत गर्ने तयारीमा लागेको छ टाइमको टिम ।

प्यूठानका जी नारायणबहादुर अध्ययनका लागि भारतको मद्रास पुगे । त्यहाँबाट कमर्समा स्नातक अध्ययन गरेपछि उनले बजार प्रतिनिधिको काममा हात हाले । ‘मैले औषधि कम्पनीको बजार प्रतिनिधि (एमआर) भएर जागिर जीवन सुरु गरेको हुँ,’ क्षेत्रीले भने । भारतमा डेढ वर्ष र स्वदेश फर्केर काठमाडौंमा १० वर्ष जति उनले एमआरको काम गरे । देशभर डुल्दा उनलाई चितवनले तानिरह्यो ।

‘एमआरको जागिर र आम्दानी आकर्षक नै हुन्छ । तर काम गर्दै जाँदा मलाई जागिर हैन, आफैंले केही गरौं भन्ने भावना बढ्दै आएको थियो,’ क्षेत्रीले सुनाए । भारतीय औषधि कम्पनीका एमआर रहेका क्षेत्रीलाई धेरै साथीभाइले सल्लाह दिन्थे, ‘उतैका औषधि आयात गरेर आफैं व्यापार गरौं ।’ तर उनी औषधि उद्योग नै खोल्ने धुनमा लागे ।

‘त्यो बेला नेपालमा निजी औषधि उत्पादक कम्पनीहरू औंलामा गन्न सकिने थिए । एकाध सरकारी औषधि कम्पनी थिए । यहाँको मागको लगभग धेरै हिस्सा आयातित औषधिले ओगटेको थियो । त्यो देखेर आयातमा आधारित व्यापार हैन उद्योग खोलौं भन्ने सोच जाग्यो,’ क्षेत्रीले भने ।