अनलाइनमार्फत ठगी बढ्दो, पढेलेखेका नै पीडित

अनलाइनमार्फत ठगी बढ्दो, पढेलेखेका नै पीडित
देबेन्द्र यादव देबेन्द्र यादव २०८१ मंसिर २२, शनिबार १२:०९
अनलाइनमार्फत ठगी बढ्दो, पढेलेखेका नै पीडित

काठमाडौँ —सामाजिक सञ्जाल फेसबुक चलाउँदै गर्दा ललितपुरकी एक महिलाका आँखा खेल खेलेर पैसा जित्ने पोस्टको विज्ञापनमा पुग्यो । घरमै बसेर पैसा आउने जानकारीले उनको ध्यान तान्यो र क्लिक गरिन् । त्यसपछि उनलाई सामाजिक सञ्जाल टेलिग्राममा जोडिन भनियो ।

टेलिग्राममा जोडिएपछि विभिन्न ‘टास्क’ आउने र पूरा गरेबापत पैसा जितिने भन्ने जानकारीले उनी लोभिइन् । नाम र नम्बर लिंकमा भरेपछि जर्मनीमा दर्ता रहेको भनिएको जुमिया कम्पनीको खातामा उनको नाम दर्ता भएको जानकारी आयो ।

त्यसपछि क्लिक गर्दा उनलाई एक हजार रुपैयाँ दिएर हजारौं पैसा कमाउन सकिने प्रलोभनमा परिन् । उनले त्यहीअनुसार गत असार २५ मा एनआईसी बैंकको क्यूआरमा एक हजार रुपैयाँ पठाइन् ।

ती महिलालाई इलेक्ट्रोनिक्स, घरायसी सामग्री, ब्युटी प्रोडक्ट्स, मोबाइल फोनलगायत विभिन्न सामान देखाएर छनोट गर्न भनियो । उनले चार पटकसम्म ‘टास्क’ पाइन् ।

त्यसपछि २ हजार ३ सय रुपैयाँ जितेको जानकारी आयो । भोलिपल्ट उनको खाता नम्बर मागेर पैसा पठाइयो । ‘त्यसपछि त साँच्चै जितिने रहेछ भन्ने लाग्यो,’ स्नातकोत्तर उत्तीर्ण गरेर लोक सेवाको तयारीमा रहेकी ती महिलाले भनिन्, ‘फुर्सदको समयको आम्दानीले फाइदै हुने सोचेर पुनः खेल खेलें ।’

पहिले जसरी नै सामान देखाएर ‘टास्क’ सुरु भयो । तर यस पटक ‘टास्क’ पहिलाको जसरी सकिएन । सुरुमै ‘टास्क’ कति खेल्ने भनेर छनोट गर्न लगाइयो । १० वा सोभन्दा माथिको ‘टास्क’ रोजेमा नजिते पनि लगानी गरेको पैसा फिर्ता आउने भनियो । पैसा नभए ऋण पनि लिन सकिने विश्वास दिलाइयो ।

त्यसपछि उनले क्रमशः २ हजार, ५ हजार, १० हजार र त्यसपछि फेरि १ हजार, २ हजार गरेर १० हजारसम्म पठाइन् । तर ‘टास्क’ थपिँदै गयो । सापट तिर्न राखेको १ लाख २० हजार रुपैयाँमध्ये ७१ हजार रुपैयाँ सकियो । उनलाई फरक–फरक बैंकको फरक–फरक व्यक्तिका खाता नम्बरमा उक्त रकम पठाउन भनिएको थियो ।