हिरासतमा रहेका रविलाई घुमाएको घुमायै ! कहिले पेस गर्ने अदालत ?

हिरासतमा रहेका रविलाई घुमाएको घुमायै ! कहिले पेस गर्ने अदालत ?
देबेन्द्र यादव देबेन्द्र यादव २०८१ मंसिर २१, शुक्रबार १३:४३
हिरासतमा रहेका रविलाई घुमाएको घुमायै ! कहिले पेस गर्ने अदालत ?

काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले जिल्ला–जिल्ला घुमाउँदै बयान लिइरहेको छ ।  कानुनतः अनुसन्धान निम्ति प्राप्त ९० दिन पूरै प्रहरी हिरासतमै रहने सम्भावना छ ।

उनलाई पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा कात्तिक २ गते पक्राउ गरिएको थियो ।

त्यसपछि कास्की, रुपन्देही, काठमाडौं र चितवन घुमाउँदै उनीसँग बयान लिने क्रम निरन्तर छ । काठमाडौंमा बयान लिएपछि मंगलबार बिहान चितवन लगिएको थियो ।  चितवनको साहारा सहकारी ठगी प्रकरणमा प्रहरीले दुई दिन बयान लिइयो । त्यसपछि उनलाई बिहीबार रातारात पुनःपोखरा फर्काइएको छ ।

चितवनको साहारा सहकारीबाट रकम लिएको सम्बन्धमा लामिछानेको संलग्नता सम्बन्धमा अनुसन्धान गरेको प्रहरीले जनाएको छ । तर, चितवनको साहारा सहकारीको रकम अपचलनबारे प्रहरीले ७० भन्दा बढी प्रश्न सोधेको प्रहरी अधिकारीहरू बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गौतम मिश्रले साहारा सहकारीबाट लामिछानेको व्यक्तिगत ऋण भने लिएको नखुलेको बताए । एसपी मिश्रले भने, ‘‘साहारा सहकारीमार्फत पनि गोर्खा मिडिया नेटवर्कअन्तर्गतको ग्यालेक्सी टेलिभिजनमा रकम गएको देखिन्छ । त्यहीबारे हामीले बयान लिएका हौँ ।”

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट भने लामिछाने एक्लैले र ग्यालेक्सी टेलिभिजनका सञ्चालन गितेन्द्रबाबु राई (जीबी) सँग संयुक्त रुपमा सवारी साधन ऋण लिएको भेटिएको थियो ।  उक्त ऋणमध्ये केही रकम चेकमार्फत फिर्ता गरेको कागजातबाट खुलेको छ । त्यस्तै पोखराको सूर्यदर्शन सहकारी र रुपन्देहीको सुप्रिम सहकारीमार्फत समेत रविको नामबाट रकम आएको खुलेको थियो ।

सूर्यदर्शन र सुप्रिमबाट ग्यालेक्सी टेलिभिजनबाहेक रविको नाममा करिब तीन करोड रुपैयाँ आएको देखिएको थियो ।  सुप्रिमबाट एक करोड ९६ लाख र सूर्यदर्शनबाट एक करोड रुपैयाँ आएको खुलेको हो । तर, रविले उक्त रकम आफूले सहकारीबाट नलिएको दाबी गर्दै आएका छन् ।

पक्राउ पर्नुअघि सुप्रिम र सुर्यदर्शनबाट रविको नाममा आएको रकम लिने रवि आफू नभएको सर्वजनिक रुपमै बताएका थिए ।  बिहीबार पोखरा फर्काइएका लामिछानेलाई फेरि अर्को जिल्ला पर्सा लैजाने तयारी प्रहरीको छ ।

पर्सा प्रहरीले बुधबार मात्रै रविसहितका आरोपीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । पर्सा प्रहरीको पत्राचारपछि कास्की प्रहरीले उनलाई पर्सा पठाउने छ ।  लामिछानेलाई थुनामा राखी अनुसन्धान गर्न कास्की अदालतले प्रहरीलाई पछिल्लो समय मंसिर ९ मा १५ दिनको म्याद दिएको थियो ।

त्यही म्यादमा लामिछानेलाई अघिल्लो साता काठमाडौं र मंगलबार चितवन पुर्‍याएर बयान लिएको हो । कार्तिक २ गते शुक्रबार पक्राउ परेका लामिछानेलाई कास्की प्रहरीले पहिलो पटक कात्तिक ४ मा ६ दिन, दोस्रो पटक कार्तिक ८ मा सात दिन, तेस्रो पटक तिहार बिदासमेत जोडेर कात्तिक २० मा १० दिन म्याद पाएको थियो ।

अब उनको म्याद २४ मंसिरमा सकिँदै छ । तर, कास्की प्रहरीले पुनः म्याद थप गराउँदै पर्सा पठाउने तयारी गरेको छ । अदालतले लामिछानेलाई थुनामा राखी अनुसन्धान गर्न प्रहरीेलाई पाँच पटक म्याद थप मिलिसकेको छ ।
आरोपितविरुद्धको अनुसन्धान न्यायाधीशलाई ‘मनासिब लागेमा’ म्याद थप गर्दै जान सक्ने कानुनी व्यवस्था छ ।

चौथोपटक कात्तिक २५ मा १३ दिन र मंसिर ९ मा पाँचौ पटक थप १५ दिन म्याद पाएको थियो ।  अझै उनलाई छैटौँ पटक म्याद थप गर्ने तयारी प्रहरीको छ ।  प्रहरीले रवि लामिछानेसहित हिरासतमै रहेका पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई र रामबहादुर खनालविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा अनुसन्धान गरिरहेको छ ।

प्रहरीलाई संगठित अपराधमा कसुरमा ६० दिन र सम्पत्ति शुद्धीकरण कसूरमा अधिकतम ९० लिन थुनामा राखेर अनुसन्धान गर्न सक्ने कानुनी व्यवस्था छ ।

हाल संगठित अपराधको अनुसन्धान समय सीमा सकिएर सम्पत्ति शुद्धीकरण कसूरमा प्रहरीले अनुसन्धान गरिरहेको हो ।

प्रहरीले पूर्वडीआईजी जोशीलाई पक्राउ गरेको मितिबाट सम्पत्ति शुद्धीकरणको अनुसन्धानलाई आधार मानेको छ । जोशी गत असोज ६ गते पक्राउ परेका थिए । पुस ६ गतेभित्र रवि लामिछानेसहितका आरोपीविरुद्ध मुद्दा अदालतमा दर्ता गराइसक्नुपर्ने कानुनी व्यवस्था छ ।

अब रविसहितका आरोपीलाई प्रहरीले थप १५ थुनामा राखी अनुसन्धान गर्न सक्छ, अदालतबाट म्याद थपिएमा । त्यसपछि अदालतमा मुद्दा दायर गरिसक्नुपर्छ ।

अभियुक्तहरूविरुद्ध मुद्दा दायर भएपछि धरौटीमा छाड्ने या पुर्पक्ष निम्ति थुनामा पठाउने भन्ने अदालतको आदेशमा भर पर्नेछ ।