डेढ दशकमा पनि बनिसकेन हुलाकी राजमार्ग

डेढ दशकमा पनि बनिसकेन हुलाकी राजमार्ग
देबेन्द्र यादव देबेन्द्र यादव २०८१ मंसिर १३, बिहीबार १२:३५
डेढ दशकमा पनि बनिसकेन हुलाकी राजमार्ग

काठमाडौँ — तराईका जिल्ला सदरमुकामलाई पूर्व–पश्चिम जोड्ने गरी डेढ दशकअघि निर्माण थालिएको हुलाकी राजमार्ग अझै पूरा हुन सकेको छैन । निर्माण सुरु भएको १५ वर्ष पुग्दा प्रगति ६७.५६ प्रतिशत मात्र बाँकी छ । निर्माण कहिले सकिन्छ ? यो प्रश्नमा स्वयं आयोजना कार्यालय नै अनुत्तरित छ ।

 

झापाको केचनाकवलदेखि पश्चिममा कञ्चनपुरको दोधारा चाँदनीसम्मको भूभागलाई जोड्ने अवधारणाअनुसार यसको निर्माण प्रक्रिया अघि बढाइएको हो । तराई–मधेशका २१ जिल्लाका करिब एक करोड जनता लाभान्वित हुने गरी यसको निर्माण थालिएको हो ।

यसअनुसार राजमार्गको कुल दूरी १८५७.४२ किमि हो । मध्यपूर्वदेखि पश्चिमतर्फको दूरी ९७५ किमि छ । यसमा ८८२.४२ किमि सहायक मार्ग पर्छ । अहिलेसम्म १२५४.६८ किमि सडक मात्र कालोपत्र गरिएको छ । ०६६/६७ बाट हुलाकी राजमार्गको निर्माण सुरु गरिए पनि अझै काम नसकिएको हो । आयोजना सुरु गर्दै गर्दा आर्थिक वर्ष ०७९/८०

भित्र निर्माणको काम सकिसक्ने उल्लेख थियो । यस अवधिमा काम नसकिएपछि ०८०/८१ सम्म समय थपियो । त्यो समयमा काम नसकिने देखिएपछि ०८३/८४ सम्मका लागि समय थपको प्रस्ताव गरिएको छ । थप समयभित्र पनि काम सकिने सम्भावना कम रहेको आयोजना स्रोतले जनाएको छ । आयोजना सुरु हुँदा प्रारम्भिक लागत अनुमान ४७ अर्ब २४ करोड रुपैयाँ थियो । पछि संशोधन गरेर ६५ अर्ब २० करोड पुर्‍याइयो । अहिले यसको लागत बढेर १ खर्ब १ अर्ब ९३ करोड रुपैयाँ बनाइँदै छ । हालसम्म ६६ अर्ब १० करोड ३३ लाख रुपैयाँ खर्च भइसकेको छ ।

सुरु रेखांकनअनुसार निकुञ्जबाट सडक निर्माण गर्ने उल्लेख भए पनि त्यसअनुसार काम भएन, जसले गर्दा तोकिएकै समयमा काम गर्न ढिलाइ भएको हुलाकी राजमार्ग निर्देशनालयका आयोजना निर्देशक कुवेर नेपालीले बताए । ‘सुरुमा निकुञ्जबाटै सडक बनाउने भन्ने थियो, त्यो भएन,’ उनले भने, ‘अहिले सुरुको रेखांकन परिवर्तन गरेर निकुञ्ज भएका जिल्लामा बनाउनुपर्नेछ ।’ सुरुको रेखांकनअनुसार केही–केही ठाउँमा काम नभएकाले आयोजनालाई अब टुंग्याउने कि भन्ने कुरा उठ्न थालेको उनले सुनाए । उनका अनुसार चितवन, बर्दिया र शुक्लाफाँटा निकुञ्जभन्दा बाहिरबाट सडक बनाइनेछ ।

‘सुरुको रेखांकन परिवर्तन गर्दा लागत र दूरी दुवै बढ्नेछ,’ उनले भने, ‘यसरी बनाइएको सडक सिधै पूर्व–पश्चिम जोडिने छैन, सहरी सडकहरूमा जोडिनेछ ।’ दाङमा २२ किमि अझै ठेक्का हुन सकेको छैन । बस्ती र वनले गर्दा यो खण्डमा समयमै काम हुन नसकेको हो ।