शीतलहरले पार्नसक्ने जोखिम न्युनिकरणको पूर्वतयारी गर्न एमालेद्वारा सरकारलाई ध्यानाकर्षण

शीतलहरले पार्नसक्ने जोखिम न्युनिकरणको पूर्वतयारी गर्न एमालेद्वारा सरकारलाई ध्यानाकर्षण
देबेन्द्र यादव देबेन्द्र यादव २०८१ मंसिर १०, सोमबार १६:३३
शीतलहरले पार्नसक्ने जोखिम न्युनिकरणको पूर्वतयारी गर्न एमालेद्वारा सरकारलाई ध्यानाकर्षण

काठमाडौं, १० मङ्सिर । एमालेको केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले विपन्न जनताहरू जाडो मौसममा शीतलहरबाट प्रभावित हुनसक्ने जोखिम रहेकाले अहिले नै पूर्वतयारी गर्न सरकारको ध्यानकर्षण गराएको छ ।

विभागका प्रमुख खिमलाल भट्टराई नेतृत्वको टोलीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाउँदै राज्यका सम्पूर्ण अंगहरूलाई सजग राख्न अनुरोध गरिएको छ ।

‘शीतलहरको कहरबाट बचाउन मुख्यतः तराई मधेशका वस्तीहरू, देशैभरिका विपन्न जनताका वस्तीहरू र भूकम्प तथा बाढी र पहिरो पीडित जनसमुदायहरूलाई ठण्डी मौसमबाट सुरक्षित राख्न नेपाल सरकारले पूर्व तयारी गर्न जरुरी छ’ ध्यानाकर्षण पत्रमा छ,’गृह मन्त्रालय, प्रदेश र स्थानीय सरकारहरू सम्बद्ध अन्य सम्पूर्ण संघ-संस्थाहरू सम्पुर्णलाई बेलैमा सजग र तयारी अवस्थामा राख्ने, बन्दोवस्तीका सामग्रीहरू पनि व्यवस्था मिलाउने र सम्भावित ठाउँहरूमा पठाउने जस्ता कामहरूमा अहिलेदेखि नै लाग्न जरुरी छ ।’

चिसो मौसमले खासगरी मधेश र देशैभरिका विपन्न वस्ती र परिवारलाई बढी पीडा दिने गरेको र न्यानो कपडा र दाउराको अभावमा कतिपय मानिसले मृत्युवरण समेत व्यहोर्नुपरेको दुखदायी घटना विगतमा सुन्नुपरेको थियो प्रधानमन्त्रीलाई स्मरण गराइएको छ ।

‘यतिबेला जाजरकोट र रुकुम पश्चिमका जनता पछिल्लोपटक आएको भूकम्पका कारण पीडामा छन् । सयौं घरहरू भत्किएर घरविहिन भएर बस्नुपरेका परिवारहरू धेरै छन् । पुनर्निर्माणको कामलाई यथाशीघ्र प्रभावकारीरुपमा सञ्चालन गर्नुपरेको छ । व्यवस्थित घर नहुँदा चिसो मौसम कति कष्टकर होला सहजै अनुमान गर्न सकिन्छ’ ध्यानाकर्षण पत्रमा छ ।