रूदाने’ वरिपरि रुमल्लिंदा

रूदाने’ वरिपरि रुमल्लिंदा
हुलाक पाना हुलाक पाना २०८१ भाद्र १९, बुधबार १०:११
रूदाने’ वरिपरि रुमल्लिंदा

फ्रेञ्च दार्शनिक क्लाउडेले भनेका छन् कि पुस्तक पढ्नबाट वञ्चित राख्नु भनेको त्यस समाजका नागरिकहरूलाई मूर्ख वा दास घोषित गर्नु हो । जर्ज बर्नार्ड शाले भने अनुसार विचारहरूको युद्धमा पुस्तक अस्त्र बराबर हुन्छ । आजका पुस्तकहरू भोलिका इतिहास हुन् र हिजोका घटनाहरू आजका पुस्तक तथा भोलिका अन्वेषण सामग्री पनि हुन् । यी सन्दर्भहरू रूपचन्द्र विष्टका जीवनका परिघटनाहरू समेटेर लेखिएको पुस्तकका सन्दर्भमा सार्थक छन् किनकि रूपचन्द्र जस्ता जनताका सेवक र उनले लिएका विचार र दर्शनलाई भोलिका पुस्तासम्म जीवित राख्न यस्ता पुस्तकहरू महत्वपूर्ण अस्त्र हुनसक्छ र स्वर्णिम इतिहासको अभिलेखन पनि ।

‘भर्खरसम्म मलाई फुर्सद थियो, तिम्रो राजालाई समय भएन । अहिले तिम्रो राजाले फुर्सद पाए, मसँग समय छैन’-राजालाई यही कुरा सुनाइदेऊ भनेर पञ्चायतको उत्कर्षमा तत्कालीन राजा वीरेन्द्रलाई सन्देश पठाउन सक्ने व्यक्ति अरू कोही नभएर मकवानपुरबाट निर्वाचित राष्ट्रिय पञ्चायतका सदस्य रूपचन्द्र बिष्ट थिए जसलाई धेरैले सम्झने र बोलाउने नाम रूपचन थियो ।

उनै रूपचनको जीवनका अनेक पाटो सँगालेर साहित्यकार तथा नाट्यकर्मी टंक चौलागाईंले ‘रूदाने’ नामक पुस्तक भर्खर बजारमा ल्याएका छन् । यी हरफ उक्त किताबकै अंश हुन्, यी र यस्ता सयौं प्रसङ्ग समेटेर तयार यो पुस्तक साङ्ग्रिला बुक्सले प्रकाशन गरेको हो । कुल ४०८ पेजको यो पुस्तक ११८ शीर्षक र उप-शीर्षकमा संरचित छ ।

रूपचनले आफूलाई परिस्थिति र आवश्यकता अनुसार जसरू (जनमुखी सहकर्मी रूपचन्द्र बिष्ट), रूदाने (रूपचन्द्र दामन नेपाल), रापसरू (राष्ट्रिय पंचायत सदस्य रूपचन्द्र) लगायत अन्य छोटा नामबाट परिचित गराउँथे । यी नाममध्ये लेखकले रूदानेको नाममा पुस्तक प्रकाशन गरेका छन् । रूपचनका अधिकांश राजनीतिक र विकासे गतिविधि दामन, पालुङलाई आधार बनाएर गरेको हुनाले यो नाम छानेको हुन सक्छ ।

रूपचन्द्र बिष्टको निधन भएको २५ वर्षपछि यस्तो पुस्तक पहिलो पटक बजारमा आएको छ । योभन्दा अघिल्लो थाहा अध्ययन केन्द्रले प्रकाशन गरेको पुस्तकमा उनको जीवनी, लेख, कविता, नारा, राष्ट्रिय पञ्चायतमा बोलेका भाषणको अंश, अन्तर्वार्ता र अन्य व्यक्तिको अनुभूति समेटिएको थियो ।

पुस्तक आफ्नो प्रिय साथी, नयाँ पुस्तक बजारमा आउनासाथ किन्ने रहर पलाउँछ । त्यसमाथि पनि आफूलाई मनपर्ने मान्छेका बारेमा निस्केको पुस्तक पढ्ने हुटहुटी हुनु स्वाभाविक हो । त्यसैले ‘रूदाने’ आउनासाथ किनेर पढ्न सुरु गरें ।

उनीसँगको मेरो सम्बन्ध पनि घाम-छाया जस्तै छ । कहिले समर्थक र कहिले प्रतिरोधी र फेरि उच्च सम्मान र श्रद्धा । मान्छेको मन पनि विचित्र छ । स्वभावले हक्की, विद्रोही जो सधैं छाप्रे र गरिबका पक्षमा सतिसाल झैं उभिए तिनीप्रतिको अटल श्रद्धा नै हो । उनी मेरा मन पर्ने पात्र (मृत्युपश्चात् अझ धेरै मन परेका) हुन् । दोस्रो, उनलाई प्रत्यक्ष देखेको, सुनेको, पढेको, २०४३ सालको चुनावमा उनको प्रचारमा हिंडेको तर २०४८ को चुनावमा उनको विपक्षमा भोट माग्दै हिंडेको र पछिल्लो समयमा उनको जनमुखी अभियानको ठाडो समर्थक हुनाले पनि पुस्तकमा के छ भन्ने कुराले मलाई लगातार तानिरह्यो ।

तेस्रो कुरा, उनको जनमुखी अभियानलाई अहिलेको सन्दर्भमा कसरी अझ नयाँ र प्रभावकारी प्रयोग गर्न सकिन्छ भन्ने विचार पुस्तकमा छ कि भन्ने नजानिंदो लोभले पनि म पुस्तकको भोकले आतुर थिएँ । किताबको बारेमा लेख्न बस्दा उनीप्रति ज्यादा आग्रही बन्छु कि भन्ने डर पनि छ र सँगै किताबका कुराभन्दा उनको कुरा पो बढी लेख्छु कि भन्ने डर अवचेतन मनमा बाँकी छ । तसर्थ मैले यहाँ रूदानेको बारेमा आफ्नो बुझाइभन्दा पुस्तकले रूदानेको बारेमा बोलेका कुरा लेख्ने प्रयत्न गरेको छु । बहकिएछु भने उनीप्रतिको सम्मान हो भनेर बुझ्न पाठकलाई सुरुमै विनीत आग्रह छ ।

सरल र सलल

पुस्तकमा रूपचन्द्र बिष्टका जीवनका आरोह-अवरोहका पाटाहरूलाई केलाइएको छ । यहाँ बाल्यकाल, विद्यालयकाल, युवाकाल, विद्रोहको पर्याय, चेतना जगाउने काल, प्रकृति प्रेम, पर्या-पर्यटन, शिक्षा काल, स्वअध्ययन, राजनीतिको उर्वर समय, ओरालो राजनीतिक यात्रा, कमजोर स्वास्थ्य, घोर निराशा र जीवनको अन्त्य विभिन्न कालखण्ड र अनेक पाटोलाई सविस्तार व्याख्या गरिएको छ । रूपचनलाई नचिन्ने वा उनको बारेमा थाहा नहुनेलाई त यसले खुराक दिने नै भयो, रूपचनलाई चिन्ने वा जान्नेलाई समेत यसले थुप्रै नयाँ घटना र उनका भोगाइहरू अवगत गराउँछ ।

विस्मृतिमा जाँदै गरेका रूपचनलाई फेरि एकपटक सम्झाउन वा पुनर्ताजगी गर्न लेखक सफल भएका छन् । लेखकले घटना र प्रसङ्गलाई अत्यन्त सरल र सहज भाषिक प्रस्तुतिमा बगाएका छन् । यो लेखकको पहिलो सफलता हो ।

रूपचन आफैंमा एउटा खुल्ला किताब हुन्, उनलाई र उनका सारा कुरा एउटा पुस्तकमा उतार्न सम्भव छैन र यो अपेक्षा कुनै पनि लेखक तथा पाठकले गर्नुहुँदैन । यसमा लेखकका आफ्ना बाध्यता पनि होलान् तर जसलाई उनले जीवनको एक महत्वपूर्ण दर्शन बनाए कम्तीमा त्यो चाहिं नछुटेको भए राम्रो हुन्थ्यो

लेखकले रूपचनको तीनवटा पक्षलाई महत्व दिएर विशेष अभिलेखन गरेका छन् । पहिलो गरिब र छाप्रे, मजदुर, किसानलाई साना तर प्रभावकारी र ठाडो उदाहरण दिएर सम्झाउने-बुझाउने क्षमताशील विद्रोही नेता ।

दोस्रोः नयाँ, नयाँ कुरा सोच्ने र त्यो सोच अनुसारको रचनात्मक प्रयोग गर्ने वैचारिक क्षमता र दार्शनिक चेत भएका व्यक्तित्व र तेस्रोः आफूले आँटेको र सोचेको काममा अरूलाई लगाउने वा अर्ति उपदेश आदेश दिने होइन आफैं मोर्चाको अग्रणी भागमा उभिएर कामको नेतृत्व गर्दै अरूलाई पनि सो अभियानमा समेट्न सक्ने कुशल नेतृत्व ।

किताबभित्र छिर्दा पटक-पटक म सरुभक्तको ‘पागलबस्ती’ उपन्यासको मूलपात्र प्रशान्त (आदिगुरु) सँग रूपचनलाई तुलना गर्न पुगेको हुन्छु भने कहिले हिन्दी सिनेमा क्रान्तिवीरको नायकले बोल्ने र जनतालाई सम्झाउने तरिकामा कल्पिन पुग्छु । यो स्वैरकाल्पनिक उपन्यास होइन तर आशीर्वाद र खल्तीबाट बनेका नेतृत्वहरूलाई लाग्दो हो यति कहरपूर्ण सङ्घर्षबाट नेता बन्नुपरेको कथा स्वप्निल वा काल्पनिक हो ।

@onlinekhabar